Saturday, 14 December 2013

मुक्तक


कहिले कोमल फुलको , थुँगा बन्छ मानिस 
कहिले नदी तारिदिने , डुंगा बन्छ मानिस
अभिनयको रंगमन्चमा,नाटक मन्चन गर्दागर्दै 
देउता बन्ने रहरमा , ढुङ्गा बन्छ मानिस 



Monday, 7 October 2013

कबिता


      "  कबिता "

ए एकजोडी आँखाहरु हो 
नरुझाउ मेरो परेलीहरु 
नभत्काउ मनका बाँधहरु 
म झर्न चाहन्न 
त्यो साँघुरो डीलबाट 
म पग्लिन चाहन्न 
स्वाभिमानको सेतो उचाईबाट 
किनकी मलाई 
काँडाको सगरमाथा चड्नुछ 
खुकुरीको धारमा टेक्नुछ
त्यसैले भावनामा बहकिने दलील
अब यो अदालतलाई मन्जुर छैन 
किनकी मलाई फलाम हुनुछ 
र फलामलाई नै रेट्नुछ 



Thursday, 1 August 2013

बदमास गल्ती


म कथा, म पात्र 
म घटना,म कहानी 
म स्वयम 
मेरो
जीन्दगीको लेखक 
हा हा हा ~~~
तर 
बिडम्बना 
मैले मसीको कलम रोजे 
मेरो कथा लेख्न 
त्यसैले मेटाउन सक्दिन 
आफ्नै हातले लेखेका 
यि बदमास गल्तीहरुलाई !!!!

Friday, 7 December 2012

मुक्तक


 



                                         

बाचा,कसम एकादेशको,कहानी झै भो आज
ति नयनबाट बग्ने आसुँ,पानी झै भो आज
भगवान ठान्नु पथ्थरलाई,भुल म बाटै भयो
जिन्दगी फूल र शितको,जवानी झै भो आज

Friday, 27 August 2010

हिँउ परेको रात.




कयौं बसन्त बिते,कयौं हिँउद गए, भित्ताका क्यालेन्डरहरु पनि फेरिए । समयले धेरै स्वरुपहरु बदल्यो । अनि उतारचढाबहरु आए। सोही अनुरुप तिमीमा पनि धेरै परिवर्तनहरु देखा परे। तिम्रो चाहत बदलियो,तिम्रो हृदय बदलियो। तर त्यो परिवर्तन र हेरफेरिको असर म मा कहिले परेन। मैले कहिल्यै पनि तिमी प्रतिको अघात स्नेहलाई केही सँग तुलना गरिन, र त्यो श्रद्धा र स्नेहलाई मैले समय र मौसमको बदलिदोँ स्वरुपमा ढाल्ने मौका पनि कहिले दिईन।

आज पनि म त्यही बिन्दुमा तथस्ट छु जहाँ तुषारो परेको एक रात तिमीले मलाई एक्लै छोडेर गएका थियौ। जब त्यस रात तिमी सँगको मेरो न्यानो साथ छुट्यो,भाबनात्मक नाता टुट्यो। मेरो पाइलाहरु त्यही अडिग भए। म अगाडी बढ्न सकिन। किनकी तिम्रो साथ र हौसला नै मेरो गन्तब्यको आधार थियो। मेरो जीवनको बैशाखी थियो। जो बिना म एक पलको पनि कल्पना गर्दिन थें। तिमीले मेरो हर आशालाई कुल्चियौ,प्रेरणाको श्रोत सुकायौ।

म धेरै रोए,कराए चिच्याए तर मेरो चित्कार तिम्रो कानमा आवाज बनेर कहिले गुन्ज्यामान भएन। किनकी तिमीलाई ति हर परिवर्तनले परिवर्तित गराई सकेको थियो अनि तिमीम भन्दा दुर धेरै दुर गईसकेको थियौ। थाहा छ तिमीलाई त्यसपछि के भयो??जब निशा आफ्नै गतिमा छिप्पिदै गयो,तुषारोले पनि हिँउको रुप लिन थाल्यो अनि चिसो सिरेटोले मेरो अधरमा कम्पन छुट्न थाल्यो तर पनि काँपेका ति मेरा अधरले तिम्रो नाम जप्न छोडेन।म एकोहोरो भए एवम् रितले। तर तिमीले एकपटक पनि हेरेनौ। केवल आफ्नो नयाँ यात्रामा गन्तब्य पछ्याउदै हिँडिरहेउ। यता बेवारीसे बनि हिँउ मेरो शरीरमा निरन्तर थुप्रिरहे। रोकिने कुनै नाम निशान थिएन। बिस्तारै शरीरका प्रत्येक बुँद रगतहरु बरफ सरी जम्दै गए। म चल्मलाउन सकिन अनि स्वयम् एक हिँउको पहाडमा परिणत भए। त्यस एक रातले मलाई नयाँ स्वरुप दिलायो।त्यसैले आज अनेकौ यात्रीको चेहेरामा तिमीलाई खोज्न म एक हिँउको स्तम्भ भएर उभिरहे। अचेल थुप्रै यात्रीहरुले झै मेरै छाती कुल्चिएर शिखर चुम्न जान्छन्। बेला बेला तिनै यात्रीहरुले तिम्रो नाम लिएको सुन्छु। धेरै तरिफ गर्छन् तिम्रो। म कान ठाडो बनाएर सुनिरहन्छु। किनकीआज सम्म पनि तिमीलाई सुन्ने मेरो चाहतमा कमी आएको छैन। सुन्छु तिमीले त धेरै शिखर चुमीसक्यौ रे, सबैले तिम्रो सम्मान गर्छन् रे म हर्ष बिभोर हुन्छु हुन त तिमीले सँगै शिखरका चुचुराहरु चुम्ने मेरो आकंक्षाहरु यही हिँउको थुप्रो सँगै बिलिन भए पनि तिम्रो सपना साकार भयो म यही बुट्यानका पातहरुमा अल्झिए पनि मैले नै देखाएको गोरेटोहरुबाट आज तिमिले शिखर चुम्यौ यसैमा गर्ब गर्छु। सायद मेरो खुशीको एउटै बिकल्पहो यो। अब त भित्री घाउ निचोरेर भए पनि दुनिँया सामु मुस्कुराउनु मेरो आदत भइसक्यो।त्यसैले तिमीलाई त्यही मुस्कानको साथमा शुभकामनाको गुच्छाहरु अनि बधाईका बहारहरु अर्पण गर्दछु ।

ए अनि सुन त कुनै दिन यही बाटो भएर फेरी शिखर चुम्न गयौ भने मलाई एक पटक भए पनि श्पर्श गरेर जाउ है। हुन त म ति प्रत्येक बटुवाहरुलाई यही सन्देश तिमी सम्म पुर्याइदिन आग्रह गर्थे तर थाहा छैन ति बटुवाले मेरो आग्रह स्विकार गरेनन् या तिमीले नै सुनेरपनि बेवस्ता गर्यौ म अनभिग्य छु। तर पनि तिम्रो न्यानो साथको अपेक्षा अनि तिमीलाई नियाल्ने मेरो चाहनाहरु अझै पनि जिवित छन् त्यसैले म आज पनि ति आधार शिविरहरुमा हरपल नयन डुलाई रहन्छु। जब शिखर चुम्न आउने यात्रीहरुले लहरै त्रिपाल टाँगेको देख्छु। तब कता कता तिम्रो आगमनको आभाष हुने गर्छ। तर सबै मेरा महसुसहरु भ्रम सिवाय अरु केही भएन। सायद तिम्रो र मेरो भेट नै एक भ्रम थियो र अन्येष्ठीपनि मात्र एक भ्रम।।।।

2064/3/10

nayabazar
पुरानो डायरीबाट

Tuesday, 13 July 2010

सकुनको सास

होस् कि नहोस
प्याँ...गरे पुग्ने
के थाहा उसलाई
मेरो सुस्केरा
फाटेको चोलिको बेदना
सडकमा मकै भुटेर पनि
पिठिँयूमा बोक्नै पर्छ
भुईमा राख्यो
फेरी उही सिलसिला
यो मनको छिद्र
दिन प्रति दिन
घाउ बनेर पाक्छन्
कति कट्कटाउछ,कति चर्याउछ
दाँत किटेर सहन्छु
उसकै मुहार मल्हम बन्छ
कता कता निशा भित्र पनि
एउटा मधुरो रोशनी देख्छु
यसै यसै शितल हुन्छ
सकुनको सास फेर्छु ...

Thursday, 3 June 2010

गीत ...


यति चोखो माया हाम्रो सोचाई भन्दा परको
सम्बन्ध हाम्रो अटल अटुट पिपलु र बरको


न झर्छ न मर्छ हृदयको माया यो
युगौ युग बाँच्ने अन्तर्मनको छाँया यो
यस्तो लाग्छ दिउ माया छाल बनी लहरको
यति चोखो माया हाम्रो सोचाई भन्दा परको


न गल्छ न ढल्छ कसैको आवेगले
चल्छ सधैं सधैं माया मुटुको संवेगले
आस्था छ मन भरी यो विश्वाश रुपी घरको
यति चोखो माया हाम्रो सोचाई भन्दा परको
सम्बन्ध हाम्रो अटल अटुट पिपलु र बरको

Sunday, 4 April 2010

मुक्तक ..



हुटिट्याउको आवाज जस्तो,सारङगीको धुन पनि
रोए झै लाग्छ हेरेर मलाई,सगरको जुन पनि
बिना शिशिर पात झर्यो,आशाको फुल त्यसै मर्यो
लापता भई बिलाई गयो जाँगर रुपी खुन पनि

Tuesday, 16 March 2010

गीत .............


बाटोमा बटुवाले कुल्ची जाने ढुङ्गा म
खडेरीले ओइलिएको फुलको थुङगा म

आँखाको सपनाहरु पिँजडाको रहर भो
छाती छाती होइन चोटहरुको शहर भो
छालहरुले मेटिने बालुवाको बगर भो
बिना कारण माया धरती र सगर भो

बाटोमा बटुवाले कुल्ची जाने ढुङ्गा म
खडेरीले ओइलिएको फुलको थुङगा म


बिते हरेक प्रहरहरु उजेलीको आशमा
पिएर सधैं आँशुका घुट्काहरु गाँसमा
जिए जिबन गुम्साएर नमिठो सासमा
नाटक नगर्नु मायाको अब मृत लाशमा

बाटोमा बटुवाले कुल्ची जाने ढुङ्गा म
खडेरीले ओइलिएको फुलको थुङगा म

Sunday, 24 January 2010

मुक्तक ..


समथर हाम्रो प्रेम,अचानक आज भीर बन्यो
निको पार्छ घाउ भन्थे,झनै दिलको तीर बन्यो
बिचारको खाडल भित्र,बिश्वासको पहिरो गयो
जिन्दगी भर बल्झाइरहने,नमिठो पिर बन्यो

अनुभब र अनुभुतीहरुको शब्दरुपी सँगालो

हजुरहरुको सल्लाह र सुझाब अनि प्रतिकृयाको आशमा