Thursday, 10 December 2009

मेरो दुनियाँ


शुरु हुन्छ मेरो दुनियाँ यो रात संगै
नजिकिन्छन् मान्छेहरु मिठा बात संगै

बेमतलबी बनेर लुछ्न थाल्छन शरीर
होशहवाश गुमाई बोतलको मात संगै

निर्जिब फुल सरी च्यातेर फ्याँकिदिन्छन्
काम सारा सकिएपछि फोहरको खात संगै

तिर्खा मेटी बाटो लाग्छन् पधेरीको पानी झै
रित्तिन्छु म चाँही शुन्य यो हात संगै

थरी थरी कुरा सुनी सयौ उपनाम बोकी
बिबशतामा जिउछु म समाजको घात संगै

ए सपनी ......


ए सपनी किन आँउछस्
तँ बार बार
किन ओढाउछस् मलाई
मिठो आश्वाशनको न्यानो च्यादर
किन चढाउछस् मलाई
कुहिरो भित्रको सगरमाथा
जस्को भ्रममा म
सधै हराछु
बिलाउछु
अनि बिपनीमा
बौलाउछु
हजारौ पटक
यस्तो सपनी के सपनी
जो बिपनीको आभाषमा टुक्रिन्छ
छताछुल्ल पोखिन्छ
अनि सकिन्छ
भो तँ मेरो आँखामा
नआएकै जाति
स्वीकार्न त सक्छु म मेरो
आफ्नो बास्तबिकतालाई..........

न लोभ

न लोभ न मोह पसिनाले भिझ्ने मान्छे म
मलाई गुन्द्री प्यारो मखमलले बिझ्ने मान्छे म
आश छैन कसैको मलाई न त भर नै पर्छु
एक पेट भर्न नाम्लोले थाप्लो थिच्ने मान्छे म

चङ्गा भई

चङ्गा भई कहिले सगरलाई चुमु भन्छ
डुङ्गा भई कहिले गहिराईमा झुमु भन्छ
पलक्षणमा बहकिने यो मनको जात कस्तो?
पुतली झैं रंगीचंगी फुलै फुल घुमु भन्छ....

बेखबर बसाँई सरे म....

गलत अर्थ नलाउ प्रिय मजबुरीमा परे म
खुसि दिन तिमिलाई नै मुग्लानमा झरे म

माग्न त तिमिले मागेनौ कहिले केहि
कति सहन्छौ चोटहरु दुबिधामा परे म

नभने नि तिमिले तिम्रो सुस्केरा बुझ्छु म
कति ढाँट्छेउ भुन्टेलाई पापा ल्याउछु भरे म


सक्दिन थेँ हेर्न फाटेका ति तिम्रा चोली
सहन नसकि पिडाहरु कयौ चोटि मरे म

छाडि आए एक्लै सक्छौ भने माफ गर
नभन्नु निष्ठुरी बेखबर बसाँई सरे म

तँ मान्छेको मालिक ....

कहिले कहाँ पछार्छ
कहिले कहाँ लतार्छ
कहिले परेली रुझाउछ
कहिले अधर हसाँउछ
तै पनि नाचीरहन्छु तेरो इशारामा
म लाचार,बिबश,निरिह
तेरो अगाडि
ज्युँदो एक मुर्दा जस्तै,
हातको कठपुतली जस्तै
जहाँ लान्छस् उतै जान्छु
तेरो परिधिमा घुमिरहन्छु
पल पल हरेक दिन
साचै समय तँ बलबान छस्
तँ मान्छेको मालिक होस्

सम्झनाका छालहरु .....

फैलिन्छन् मष्तिष्क भरी बेचैन जालहरु
उर्लन्छ्न् किन यसरी सम्झनाका छालहरु

उडिदिन्छ मन यसै पवनका ति तरेलीमा
थाहा पत्तो हुन्न मलाई मेरो आफ्नै हालहरु

के हुन्छ के दिलमा नजर तिम्रो परेपछि
सल्बलाउछन् किन किन मनभित्रका तालहरु

के जादु गर्यौ तिम्ले टुनामुना पो लगायौ की
हिँड्दा हिँड्दै दोबाटोमा लर्खराउछन चालहरु

फैलिन्छन् मष्तिष्क भरी बेचैन जालहरु
उर्लन्छ्न् किन यसरी सम्झनाका छालहरु ..............

सगर र सागर

सायद परिचय गलत भएछ
वा पहिचान अलग
सगर र सागर
संगम त हाम्रो असम्भब नै थियो
बाधक बादललाई छलेर
टुलुटुलु हेर्नुको बिबशता
अनि स्पर्शको रहरले
बेचैन थोपा झार्ने कोशिस
तर सबै अर्थहिन र ब्यर्थ
सिसाको महल जस्तै
बालुवाको शहर जस्तै
कहिल्यै पुरा नहुने रहर
अनी प्राप्त नहुने सपना
तर देखे किन जानि जानि
पश्चातापमा जल्नलाई ?
या लचारिपनको प्रदर्शनलाई?
पोका छन् प्रश्नको
तर मौन छु
प्रतिउत्तर आउदैन
थाहा छ किन?
किनकी तिमी सगर म सागर........

मुक्तक

बुझेनौ कहीले मलाई गलत अर्थ लायौ
दुनियाँको कुरा सुनी आँफै गीत गायौ
आफ्नो माने सधैं आफ्नै ठाने सधै
दुखाई मेरो मुटु तिमीले के पायौ ??

पढ्न सक्थौ सजिलै खुल्ला पाना थिए
घामपानी बाट छेक्ने तिम्रै छाना थिए
बुझिदियौ भाब मनको ढिलै भएपनि
गुन्जिरहने तिम्रो सामु सुमधुर गाना थिए

अनुभब र अनुभुतीहरुको शब्दरुपी सँगालो

हजुरहरुको सल्लाह र सुझाब अनि प्रतिकृयाको आशमा